झापा । बाह्रदशी गाउँपालिका कार्यालय भवनमा रंग लगाउने क्रममा तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका ४ निवासी ४२ वर्षीय टंक थापा सोमबार बिहान करिब ९:४० बजे बाह्रदशी गाउँपालिका ५ फूलबारीस्थित गाउँपालिका कार्यालयको तीनतले भवनमा रंग लगाइरहेका थिए । सोही क्रममा सन्तुलन गुमाउँदा उनी तल खसेका थिए ।
प्रहरीका अनुसार थापा सीधै भुइँमा खस्नुअघि भवनको बीच भागमा रहेको फलामे ग्रिलमा ठोक्किँएका थिए । दुर्घटनामा उनको निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको थियो । घटनालगत्तै सहकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले उपचारका क्रममा थापाको मृत्यु भएको पुष्टि गर्दै घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार दुर्घटनाका बेला आवश्यक सुरक्षा उपकरण प्रयोग गरिएको थियो वा थिएन भन्ने विषय पनि अनुसन्धानको दायरामा राखिएको छ ।
पालिका कार्यालय भवनमा भइरहेको रंगरोगनको कामका क्रममा भएको यस दुर्घटनाले निर्माण तथा मर्मतसम्भारका कार्यमा श्रमिक सुरक्षाको अवस्थामाथि पुनः प्रश्न उठाएको छ । उचाइमा काम गर्दा सुरक्षा बेल्ट, हेल्मेट तथा सुरक्षित स्काफोल्डिङजस्ता आधारभूत सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्ने भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्ता दुर्घटना दोहोरिने गरेका छन् ।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






