काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका ४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काठमाडौं महानगरपालिका १० कपन बस्ने ३३ वर्षीय बद्री मगर, काठमाडौंको स्वयम्भू बस्ने २५ वर्षीय नेत्रलाल नेवा, भारतको बैंगलोर बस्ने ६५ वर्षीय जगदीश बिएल, चितवनको कालिका नगरपालिका ३, पदमपुर बस्ने ६५ वर्षीया यनु मगर, रुपन्देहीको बुटवल उपमहानगरपालिका ४, अमरपथ बस्ने ४० वर्षीय रुप गुरुङ, ईभी भ्यानका सहचालक ३५ वर्षीय गोविन्द थापा, चालक बुटवल उपमहानगरपालिका १२, ढवाह बस्ने ४४ वर्षीय कृष्ण थापा, गुल्मीको इस्मा गाउँपालिका ६ बस्ने २१ वर्षीय किरण मुखिया, भारतको बैंगलोर (कर्नाटक) बस्ने ६१ वर्षीय नन्जुण्डे गोडा तथा रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ बस्ने २८ वर्षीय प्रकाश भट्टराई घाइते भएका छन् ।
घाइतेमध्ये चार जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । दुवै सवारीसाधन घटनास्थलमै रहेका छन् भने पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन सहज रूपमा सञ्चालन भइरहेको छ । दुर्घटनापछि ट्रक चालक मकवानपुरको थाहा नगरपालिका ११ बस्ने ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।






