रौतहट । रौतहटमा जग्गा विवादका क्रममा एक जनाको हत्या गरेको आरोपमा प्रहरीले बुबा छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ३ औरैयाका ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राम महेश्वर साह रहेका छन् ।
प्रहरीका अनुसार ईशनाथ नगरपालिका ३ का ८० वर्षीय रामबहादुर साह, उनका ज्वाइँ ६० वर्षीय बुटन साह तथा रामऔतार र राम महेश्वरबीच जग्गाको विषयलाई लिएर विवाद भएको थियो ।
विवादले उग्र रूप लिएपछि भएको कुटपिटका क्रममा राम महेश्वरले चक्कु प्रहार गर्दा बुटन साह गम्भीर घाइते भएका थिए । गम्भीर घाइते बुटनलाई उपचारका लागि प्रादेशिक अस्पताल, गौर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा रामऔतार र राम महेश्वरलाई मंगलबार राति पक्राउ गरेको हो ।
घटनामा घाइते भएका रामबहादुर साहको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






