सिरहा । असार मसान्त नजिकिँदै जाँदा देशभरजस्तै सिरहाका स्थानीय तहमा पनि विकास निर्माणका काम हतार–हतार सम्पन्न गर्ने प्रवृत्ति देखिएको छ । वर्षभर सुस्त गतिमा रहेका योजना आर्थिक वर्षको अन्त्यतिर आएर तीव्र रूपमा अघि बढाइँदा निर्माणको गुणस्तरमाथि प्रश्न उठ्न थालेका छन् ।
यसको एउटा उदाहरण बनेको छ, सिरहाको गोलबजार नगरपालिका १३ दुर्गापुर । यहाँ निर्माणाधीन आरसीसी सडक ढलान गुणस्तरहीन रहेको भन्दै स्थानीयवासीले गम्भीर गुनासो गरेका छन् ।
दुर्गापुरको तत्माटोलदेखि काशीपुर जाने सडकमा संघीय सरकारको २५ लाख रुपैयाँ लागतमा ठेक्कामार्फत आरसीसी ढलान भइरहेको छ । स्थानीयका अनुसार सोमबार रातिदेखि सुरु गरिएको ढलान कार्य सम्पन्न भएको एक दिन नबित्दै विभिन्न स्थानमा चिरा देखिन थालेका छन् ।
स्थानीय देवेन्द्र महतोका अनुसार वडा अध्यक्षकै निगरानीमा भइरहेको निर्माण कार्य गुणस्तरहीन छ । उनले ढलान गरेको केही घण्टामै ठाउँ–ठाउँमा चिरा देखिएको बताउँदै प्राविधिकको प्रभावकारी निगरानीबिना यति ठूलो योजनाको काम गर्नु सरकारी रकमको दुरुपयोग भएको आरोप लगाए ।
अर्का स्थानीय राजीव सिंहले अनुमान (इस्टिमेट) अनुसार ढलानअघि ग्राभेल बिछ्याएर रोलर चलाउनु पर्ने भएपनि ठेकेदारले ग्राभेल बिछ्याएर सिधै ढलान गरेको दाबी गरे । उनका अनुसार ग्राभेललाई सम्याउने काम समेत नगरिएको देखिएको छ ।
यता, गोलबजार नगरपालिका १३ का वडा अध्यक्ष नन्दकुमार महतोले भने उक्त विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले, “यस विषयमा नगरपालिकासँग बुझ्नुहोस्,” भन्दै पन्छिन खोजे ।
स्थानीयले निर्माणको गुणस्तरबारे प्रश्न उठाएको विषयमा सोध्दा उनले, “जसले गुनासो गरेको हो, उसैलाई सोध्नुहोस्,” भन्दै थप प्रतिक्रिया दिन चाहेनन् । वडामा सञ्चालन हुने योजनाको अनुगमन वडा अध्यक्षको जिम्मेवारी होइन र भन्ने प्रश्नमा उनले आफू व्यक्तिगत काममा रहेको बताउँदै फोन काटेका थिए ।
यसबारे गोलबजार नगरपालिकाका योजना प्रमुख तथा इन्जिनियर जय गणेश सिंहले भने योजना संघीय सरकारको बजेटअन्तर्गत इ–बिडिङ प्रक्रियाबाट ठेक्का लगाइएको जानकारी दिए । उनका अनुसार २५ लाख रुपैयाँको लागत अनुमान गरिएको योजनाको निर्माण प्रधान निर्माण सेवाले करिब २१ लाख रुपैयाँमा सम्पन्न गर्ने सम्झौता गरेको छ ।
इन्जिनियर सिंहले निर्माण कार्यमा कडा निगरानी भइरहेको दाबी गर्दै कामदारले ढलानका क्रममा सिमेन्टको मात्रा बढी प्रयोग गरेका कारण प्रारम्भिक रूपमा चिरा देखिएको हुन सक्ने बताए । उनले आफू घटनास्थल पुगेर स्थलगत निरीक्षण गर्ने जानकारी पनि दिए ।
यसैबीच, गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्ने प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । हरेक वर्ष असार मसान्तमा बजेट खर्च गर्ने दबाबका कारण स्थानीय तहमा हतार–हतार निर्माण गर्ने प्रवृत्ति दोहोरिँदै आएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
निर्माण सम्पन्न भएको केही घण्टामै चिरा देखिनु सामान्य प्राविधिक अवस्था हो वा निर्माण प्रक्रियामा लापरबाही भएको हो भन्ने विषय भने प्राविधिक परीक्षणपछि मात्र स्पष्ट हुने उनीहरूको भनाइ छ । यद्यपि स्थानीयले उठाएका प्रश्न, वडा अध्यक्षको बेखबर प्रतिक्रिया तथा निर्माणस्थलको अवस्थाले योजनाको गुणस्तर र अनुगमन प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ ।




