सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । लक्ष्मीपुर पतारी गाउँपालिका ३ महेशपुर निवासी ४० वर्षीया रञ्जुदेवी यादवको शव गाउँपालिकाको वडा नं ५ र ६ को सीमास्थित सरस्वती खोलाको उत्तरी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीय अजय यादव भैंसी चराउन जाने क्रममा शव देखेपछि परिवारका सदस्य र प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल, लहान पठाएको छ ।
मृतकका बुबा हरिदेव यादवका अनुसार रञ्जुदेवी केही समयदेखि मानसिक स्वास्थ्य समस्याका कारण माइतीमै बस्दै आएकी थिइन् । उनको मानसिक अवस्था अस्थिर रहने भएकाले कहिले घरमा बस्ने र कहिले बाहिर निस्कने गर्ने गरेको परिवारले जनाएको छ । उनको माइती लक्ष्मीपुर पतारी ५ पथलगडामा रहेको छ ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन । मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।




