सर्लाही । सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास गर्ने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको छ । बुधबार राति भएको घटनामा व्यवसायी भने सकुशल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका ७ र ९ को सीमास्थित आइडियल स्कुल नजिकको सुनसान क्षेत्रमा लालबन्दी ७ बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी ९ बस्तीपुर निवासी हरिप्रसाद सापकोटामाथि लुटपाटको प्रयास भएको हो ।
प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार सापकोटा बुधबार राति करिब ८ बजे पसल बन्द गरेर एक जना साथीसँग मोटरसाइकलमा घर फर्किरहेका बेला अर्को मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले उनीहरूलाई रोक्दै लुटपाट गर्ने प्रयास गरेका थिए ।
लुटपाटको क्रममा भएको सामान्य धकेलाधकेलपछि आक्रमणकारीले कटुवा पेस्तोलबाट दुई राउन्ड गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट पड्किएका गोलीका दुई वटा खोका बरामद गरिएको छ ।
गोली प्रहार भएपनि सापकोटा र उनीसँग रहेका साथी दुवै सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट डीएसपी गौतमको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजीका लागि बिहीबार बिहान २ बजेसम्म सर्च अपरेसन सञ्चालन गरेपनि हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






