काठमाडौं । धनुषा, पर्सा र सर्लाहीमा प्रहरीले विभिन्न प्रकारका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ मा डेरा गरी बस्दै आएका मुखियापट्टी मुसहरनिया गाउँपालिका १ मुसहरनिया टोल निवासी २५ वर्षीय नविन कुमार यादवलाई प्रहरीले खैरो हेरोइनजस्तो देखिने २ ग्राम ३०० मिलिग्राम पदार्थ, एक थान डिजिटल तराजु र नगद १४ हजार ४६५ रुपैयाँसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनको डेरा कोठामा खानतलासी गर्दा उक्त सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ । त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका १९ तिलावे पुलबाट ५० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राजेपामसहित वीरगञ्ज महानगरपालिका १२ मुर्ली निवासी २२ वर्षीय विकास मिया मन्सुरी पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोस्ट बिन्दवासिनीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस्तै सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर गोरूबजारबाट २० ट्याब्लेट नाइट्राजेपामसहित लालबन्दी नगरपालिका २ निवासी ३५ वर्षीय संजीव कुमार केसी पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले बा ५२ प ३३०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा केसीले आफ्नै घर पछाडिको खेतमा थप लागूऔषध लुकाइराखेको खुल्न आएपछि सो स्थानमा खानतलासी गरिएको थियो ।
त्यस क्रममा २१८ ट्याब्लेट नाइट्राजेपाम र १४४ ट्याब्लेट स्पास्मो बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।






