वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीहरूले तीन दिनदेखि पेनडाउन आन्दोलन जारी राखेका छन् । दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै कर्मचारीहरूले गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा ठप्प पारेका छन् ।
गत मंगलबार कार्यालय समयमै गाउँ कार्यपालिकाको कार्यालयभित्र चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले सोही दिनदेखि आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका कारण गाउँपालिकाको प्रशासनिक सेवा प्रभावित हुनुका साथै बुधबारदेखि मातहतका विद्यालय र स्वास्थ्य चौकीको सेवा पनि प्रभावित भएको छ ।
घटनाको तीन दिन बितिसक्दा पनि किटानी जाहेरी दर्ता नभएको र मुख्य आरोपितहरू पक्राउ नपरेको भन्दै आन्दोलनरत कर्मचारीहरूले बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्ना दिए ।
कर्मचारीहरूका अनुसार कालिकामाई गाउँपालिका ३ का वडाध्यक्ष सञ्जय कुमार पटेल, गाउँपालिका २ निवासी आफूलाई ‘जेनजी’ अगुवा बताउने राजनिश कुशवाहा तथा हिरालाल राउत कुर्मीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दामा किटानी जाहेरी दर्ताका लागि निवेदन दिइएको भए पनि प्रहरीले दर्ता नगरेको आरोप लगाइएको छ ।
घटनास्थलको सीसीटीभी फुटेजमा कुटपिटको दृश्य स्पष्ट देखिए पनि प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको उनीहरूको दाबी छ । कर्मचारीहरूले सरकारी कार्यालयभित्र कार्यरत कर्मचारीमाथि कार्यालय समयमै भएको आक्रमण सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमण भएको बताएका छन् । उनीहरूले दोषीमाथि संघीय कानुनबमोजिम कारबाही गर्न, सरकारी कर्मचारीको सुरक्षा सुनिश्चित गर्न तथा घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले उक्त घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको, प्रशासनिक कामकाज प्रभावित भएको तथा गाउँपालिकाको सुशासनमा समेत नकारात्मक असर परेको बताए । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले कर्मचारीमाथि भएको कुटपिटको घटनाको निन्दा गर्दै घटनामा संलग्न जो–कोहीलाई पनि कानुनबमोजिम कारबाही हुनुपर्ने बताए ।
उता जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका २ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जनाएको छ । साथै घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




