वीरगंज । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले यस प्रकरणमा एक लाख ९१ हजार ५२० रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरेको छ । आयोगका अनुसार पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैटौं तहका कर्मचारी संजय कुमार पाण्डेय, अपाङ्ग शाखाका तत्कालीन कर्मचारी अम्बिका महतो खुलवट र स्थानीय महेन्द्र राउत कुर्मीको मिलेमतोमा अपाङ्गता परिचयपत्रको सरकारी अभिलेखमा रहेको विवरण बदनियतपूर्वक सच्याइएको थियो ।
स्वास्थ्य परीक्षण प्रतिवेदन र अपाङ्गता समन्वय समितिको निर्णयअनुसार महेन्द्र राउत कुर्मी ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र पाउने योग्य भएपनि अभिलेखमा केरमेट गरी ‘क’ वर्गमा परिवर्तन गरिएको आयोगको आरोप छ ।
यसरी परिचयपत्रको वर्ग परिवर्तन गरेपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था मिलाई महेन्द्र राउत कुर्मीलाई कुल एक लाख ९१ हजार ५२० रुपैयाँ बराबरको लाभ दिलाइएको आयोगले जनाएको छ । सरकारी अभिलेखमा झुटो विवरण तयार गरी प्रमाणित गरिएको अनुसन्धानबाट पुष्टि भएको आयोगको निष्कर्ष छ ।
अख्तियारले संजय कुमार पाण्डेय र अम्बिका महतो खुलवटविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत भ्रष्टाचार, सरकारी कागजातमा हेरफेर तथा झुटो लिखत तयार गरेको कसुरमा बिगो, कैद र जरिवानाको मागदाबी गरेको छ ।
यस्तै, महेन्द्र राउत कुर्मीलाई उक्त कसुरमा मतियार बनेको आरोपमा मुख्य कसुरदारसरह सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।




