रौतहट । रौतहटको गरुडा नगरपालिकामा आर्थिक वर्षको अन्तिम समयमा कार्यालयमा ताला लगाएर कर्मचारीको निजी घरबाट विभिन्न योजनाको करोडौँ रुपैयाँ बराबरको भुक्तानी प्रक्रिया सञ्चालन गरिएको आरोप सार्वजनिक भएको छ । सरकारी कार्यालयभन्दा बाहिर बसेर सार्वजनिक कोषको भुक्तानी गरिएको घटनाले स्थानीय तहको वित्तीय अनुशासन, पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
स्थानीय स्रोतका अनुसार असार २४ र २५ गते राति तथा आर्थिक वर्षको अन्तिम दिन नगरपालिकाको नियमित कार्यालयमा नभई दुर्गाभगवती गाउँपालिका ३ मत्सरीस्थित स्वास्थ्य शाखा प्रमुख प्रविण झाको निजी घरबाट विभिन्न योजनाको भुक्तानीका चेक तयार पारिएको थियो ।
आर्थिक वर्ष समाप्त भएसँगै राति ११:५९ बजेपछि वित्तीय प्रणाली बन्द हुने भएकाले हतारमा त्यहीँबाट भुक्तानी प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ । यस क्रममा नगर प्रमुख कन्थमणि जयसवाल, प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपाने, लेखा शाखाका कर्मचारी तथा केही वडाध्यक्षको संलग्नतामा कार्यालयबाहिरबाट भुक्तानी प्रक्रिया सञ्चालन भएको आरोपसमेत सार्वजनिक भएको छ ।
बिहीबार साँझ प्रमुख प्रशासकीय अधिकृत न्यौपाने कार्यालयमा नभई सोही घरमा लेखा शाखाका कर्मचारी सत्यनारायण सहनीसहित विभिन्न योजनाको भुक्तानीका चेक तयार गरिरहेको अवस्थामा प्रहरी पुगेको थियो । नगरपालिकाको कार्यालयबाट करिब २० किलोमिटर टाढा रहेको उक्त स्थानमा सरकारी आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको स्रोतले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सेवाग्राहीको काम प्रभावित नहोस् भन्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतसहित सम्बन्धित कर्मचारीलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछपछि छाडिएको थियो ।
स्थानीयवासीका अनुसार नगरपालिकाका धेरै योजना अझै पूर्ण रूपमा सम्पन्न भएका छैनन् । तर कागजी रूपमा सम्पन्न देखाएर आर्थिक वर्षको अन्तिम घडीमा भुक्तानी गरिएको आशंका गरिएको छ । यदि अनुसन्धानबाट उक्त आरोप पुष्टि भए सार्वजनिक खर्च व्यवस्थापन, योजना कार्यान्वयन र भुक्तानी प्रणालीमाथि गम्भीर प्रश्न उठ्ने देखिन्छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै कार्यालय बन्द गरेर अन्यत्र सरकारी भुक्तानी गरिएको विषयलाई गम्भीर रूपमा लिइएको बताए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेसहित संलग्न कर्मचारीमाथि आवश्यक कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लिखित सिफारिस गरिएको छ ।
घटनापछि स्थानीयवासीले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् । उनीहरूले सरकारी कार्यालयमा ताला लगाएर निजी घरबाट सार्वजनिक कोषको भुक्तानी गरिएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आएनन् । यता नगर प्रमुख कन्थमणि जयसवालले भने कार्यालयबाहिर बसेर सरकारी चेक काट्ने कार्य उचित नभएको स्वीकार गरेका छन् ।






