काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा कैलालीकी एक बालविकास शिक्षिकाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार कैलालीको जानकी गाउँपालिका ३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका नन्दा कुमारी शाहीले नियुक्ति प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अनुसन्धानबाट पुष्टि भएको हो ।
अनुसन्धानका क्रममा शाहीले २०६६ मंसिर ३ गते विद्यालयमा बालविकास शिक्षक पदमा नियुक्ति लिँदा माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट माध्यमिक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी ओहदा, लाभ र सुविधा लिएको पाइएको अख्तियारले जनाएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर ठहर गर्दै आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आरोपपत्रमा शाहीलाई सोही ऐनअनुसार कैद र जरिवानाको मागदाबी गरिएको छ ।






