सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा राँगाले हानेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । शुक्रबार मध्यान्ह पर्सा गाउँपालिका १ शितलपुरस्थित हुलाकी सडकमा श्रीमान् र छोरीसँग मोटरसाइकलमा महोत्तरीतर्फ जाँदै गरेकी हरिपुर्वा नगरपालिका ४ डुमरिया निवासी ४० वर्षीया पुनमकुमारी साहको राँगाको आक्रमणबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार सत्यनारायण साहले चलाएको प्रदेश २–०२–००४ प ४१६२ नम्बरको मोटरसाइकल सडकमा गुडिरहेका बेला हिँडिरहेको राँगाले पछाडिबाट हानेको थियो । राँगाको आक्रमणबाट पुनमकुमारी साह मोटरसाइकलबाट उछिट्टिएर सडकमा लडेकी थिइन् ।
गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि महोत्तरीस्थित अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार दुर्घटनाका बेला मोटरसाइकल चालक सत्यनारायण साह र उनकी ९ वर्षीया छोरी बन्दनाकुमारी साह भने सकुशल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




