जनकपुरधाम । मधेश प्रदेशका अधिकांश सरकारी अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम (प्रतिविष) र रेबिजविरुद्धको एन्टिरेबिज भ्याक्सिनको अभाव देखिएको छ । वर्षायामसँगै सर्पदंशका घटना बढिरहेका बेला आवश्यक औषधिको मौज्दात घट्दै जाँदा उपचार सेवा प्रभावित हुने र बिरामीको ज्यान जोखिममा पर्ने चिन्ता बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका सचिव डा. प्रमोद यादवका अनुसार समयमै आपूर्ति हुन नसक्दा प्रदेशभर एन्टिस्नेक भेनम र एन्टिरेबिज भ्याक्सिनको अभाव देखिएको हो । उनका अनुसार केही अस्पतालमा सीमित मौज्दात भएपनि अधिकांश स्वास्थ्य संस्थामा मौज्दात सकिने अवस्थामा पुगेको छ ।
“कतिपय स्वास्थ्य संस्थामा सीमित मौज्दात छ भने धेरैजसोमा निकै कम मात्रामा मात्र उपलब्ध छ,” सचिव यादवले भने । हाल मधेश प्रदेशका २७ वटा अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ । वर्षायाममा खेतबारी, बस्ती तथा पानी जम्ने क्षेत्रमा सर्पको सक्रियता बढ्ने भएकाले एन्टिस्नेक भेनमको पर्याप्त उपलब्धता अत्यावश्यक रहेको सचिव यादवको भनाइ छ ।
मन्त्रालयका अनुसार प्रादेशिक अस्पताल जनकपुरमा हाल ३५० भाइल एन्टिस्नेक भेनम मौज्दात छ । तर प्रादेशिक अस्पताल कलैया, धनुषाधाम नगरपालिका अस्पताल (धनुषा) र गौशाला नगर अस्पताल (महोत्तरी) मा भने प्रतिविषको मौज्दात शून्य रहेको छ । यस्तै, सात वटा अस्पतालमा २०/२० भाइलका दरले मात्र एन्टिस्नेक भेनम उपलब्ध छ ।
प्रादेशिक अस्पताल मलङ्गवामा २५०, प्रादेशिक अस्पताल सिरहामा १५०, सर्पदंश उपचार केन्द्र नवलपुरमा २१०, सर्पदंश उपचार केन्द्र बर्दिवासमा १५० तथा चोहर्वा सर्पदंश उपचार केन्द्र, सिरहामा २१० भाइल मौज्दात रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । अन्य स्वास्थ्य संस्थामा भने सय वा सोभन्दा कम भाइल मात्र बाँकी रहेको जनाइएको छ ।
औषधि खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिस्नेक भेनम र एन्टिरेबिज भ्याक्सिनका लागि दुई–दुई करोड रुपैयाँका दरले कुल चार करोड रुपैयाँ बजेट माग गरेको भए पनि बजेट निकासा नहुँदा खरिद प्रक्रिया अघि बढ्न नसकेको सचिव यादवले जानकारी दिए ।
यता, मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले नेपाली बजारमै एन्टिस्नेक भेनम र एन्टिरेबिज भ्याक्सिन पर्याप्त मात्रामा उपलब्ध नभएकाले खरिदमा समस्या भएको बताए । उनका अनुसार बजारमा उपलब्ध हुनेबित्तिकै खरिद प्रक्रिया अघि बढाइनेछ ।
संघीय स्वास्थ्य निकायबाट औषधि खरिद तथा आपूर्तिमा भएको ढिलाइका कारण प्रदेश तथा स्थानीय तहअन्तर्गतका अस्पतालमा एन्टिस्नेक भेनम र एन्टिरेबिज भ्याक्सिनको नियमित आपूर्ति हुन नसकेको प्रदेश सरकारले जनाएको छ ।




