राजविराज । सप्तरी प्रहरीले बोक्सी आरोप लगाई एक महिलामाथि अभद्र व्यवहार र कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका १० बनौलीका ३८ वर्षीय जीवछप्रसाद साह र ३२ वर्षीय अजय मण्डल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले २०८३ साल वैशाख २९ गते सोही स्थानकी रेखाकुमारी मण्डलमाथि बोक्सीको आरोप लगाउँदै अभद्र व्यवहार गर्नुका साथै कुटपिट गरेका थिए । घटनापछि फरार रहेका दुवै जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा बोक्सी आरोपसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




