धनुषा । धनुषाको मिथिला नगरपालिका ९ बडहरीस्थित पूर्वपश्चिम लोकमार्गमा शनिबार एम्बुलेन्स र धनुषाधाम नगरपालिकाकी उपप्रमुख सवार गाडी एकापसमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय, ढल्केबरका अनुसार बडहरीबाट विराटनगरतर्फ विरामी बोकेर जाँदै गरेको ना २ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केबरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी स्कार्पियो एकापसमा ठोक्किँएर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय, ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले दुर्घटनामा एम्बुलेन्समा सवार पाँच जना र स्कार्पियोमा सवार तीन जना घाइते भएको बताए ।
उनका अनुसार स्कार्पियोमा सवार धनुषाधाम नगरपालिकाकी उपप्रमुख विन्दा भुजेल (७० वर्षीय), धनुषाधाम ८ का ७० वर्षीय भीमराज भुजेल र गाडी चालक बद्री भुजेललाई चोट लागेको छ ।
त्यसैगरी एम्बुलेन्समा सवार महोत्तरीको गौशाला नगरपालिका ५ निवासी ४५ वर्षीय वसन्तकुमार सिंह, उनकी श्रीमती ४० वर्षीया रेणुकुमारी महतो, मिथिला नगरपालिका ९ का ६५ वर्षीय लक्ष्मी महतो र एम्बुलेन्स चालक दीपेन्द्रकुमार महतोलाई चोट लागेको छ ।
त्यस्तै उपचारका लागि एम्बुलेन्समा लैजाँदै गरिएकी मिथिला नगरपालिका ९ निवासी करिब ६० वर्षीया राजुदेवीको खुट्टामा सामान्य चोट लागेको छ । उनी पहिलेदेखि नै पक्षघात (प्यारालाइसिस) को विरामी रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एम्बुलेन्समा सवार पाँच जनाको जानकी मेडिकल कलेज, रमदैयामा उपचार भइरहेको छ भने उपप्रमुखसहित तीन जनाको भोगेन्द्र हेल्थकेयर, ढल्केबरमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनका अनुसार सबै घाइतेको अवस्था खतरामुक्त छ ।
दुर्घटनामा परेका दुवै सवारी साधनलाई इलाका प्रहरी कार्यालय, ढल्केबरमा राखिएको र घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






