बारा । बाराको कलैया उपमहानगरपालिकामा पोखरीमा नुहाउने क्रममा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी पासवानको डुबेर मृत्यु भएको हो ।
आइतबार साँझ करिब ६:३० बजे कलैया उपमहानगरपालिका ११ घोघरियास्थित पोखरीमा नुहाउने क्रममा बालिका डुबेर गम्भीर घाइते भएकी थिइन् । स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए ।
अस्पतालमा गरिएको परीक्षण (ईसीजी) पछि साँझ करिब ७:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुना साथ अस्थायी प्रहरी पोस्ट बसपार्कबाट सई विमलेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वको टोली पनि आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रियाका लागि खटिएको थियो ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




