सर्लाही । धान रोपाइँको मुख्य समयमा दुई दिनदेखि लगातार परेको वर्षाले सर्लाहीसहित मधेश प्रदेशका किसानमा उत्साह थपिएको छ । लामो समयको खडेरीपछि पर्याप्त वर्षा भएपछि अहिले अधिकांश क्षेत्रमा धान रोपाइँ तीव्र रूपमा भइरहेको छ ।
आकाशे पानीको भरमा खेती गर्ने किसानका लागि यो वर्षा ठूलो राहत बनेको छ । पर्याप्त पानी परेपछि रोपिसकिएको धानलाई समेत फाइदा पुगेको छ । किसानका अनुसार वर्षाले धानको वृद्धि र गाँज हाल्ने प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार अघिल्लो सातासम्म करिब ३० प्रतिशत मात्र धान रोपाइँ भएको जिल्लामा निरन्तर वर्षा सुरु भएसँगै अब अधिकांश खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ ।
सर्लाहीमा यस वर्ष करिब ४२ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । पर्याप्त वर्षापछि बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमती लगायतका खोलामा पानीको बहाव बढेको छ भने केही दिनअघिसम्म सुक्खा रहेका खोला, नहर र कुलोमा पनि पर्याप्त पानी बगेको छ ।
यससँगै तत्कालका लागि सिँचाइको समस्या हटेको छ भने किसानहरू अनुकूल मौसमको फाइदा उठाउँदै धान रोपाइँलाई तीव्रता दिइरहेका छन् । कृषि क्षेत्रमा सक्रिय निकायहरूले पनि अब केही दिन मौसम अनुकूल रहे मधेश प्रदेशमा धान रोपाइँले उल्लेखनीय गति लिने अपेक्षा गरेका छन् ।




