सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड १८ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न दशौँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख हरिमाया घलानले आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
बजेटअनुसार सङ्घीय सरकारबाट हस्तान्तरित अनुदानतर्फ ३९ करोड ५९ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट १६ करोड ४८ लाख ८३ हजार रुपैयाँ, प्रदेश सरकारबाट हस्तान्तरित अनुदान २ करोड ७४ लाख रुपैयाँ तथा आन्तरिक स्रोतबाट ७ करोड १० लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा सडक तथा यातायात पूर्वाधार निर्माण, आँप र गोलभेँडा लगायत कृषि उपजको ब्रान्डिङ तथा बजारीकरण, दुग्ध तथा मासु उत्पादन प्रवर्द्धन र उन्नत जातका गाईभैँसी तथा पाडा पालन गर्ने किसान, समूह र सहकारीलाई प्रोत्साहन गर्ने कार्यक्रम समेटिएको छ ।
बजेट सार्वजनिक कार्यक्रमकै अवसरमा हरिवन नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । नगर प्रमुख रमेश बुढाथोकी (कमल) का अनुसार ‘साक्षर नेपाल अभियान’ अन्तर्गतका न्यूनतम मापदण्ड पूरा भएपछि हरिवनलाई साक्षर नगरपालिका घोषणा गरिएको हो । हरिवन यसअघि सडक आक्षेपी मानवमुक्त तथा योगमय नगरपालिका घोषणा भइसकेको छ ।
यस्तै, नगरसभाले आगामी आर्थिक वर्षदेखि नगरपालिकाअन्तर्गत कार्यरत शिक्षक र कर्मचारीको पारिश्रमिक १० प्रतिशतले वृद्धि गर्ने निर्णय पनि पारित गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हेमराज फूँयालका अनुसार कर्मचारीको मनोबल बढाई सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले तलब वृद्धि गर्ने निर्णय गरिएको हो ।




