सप्तरी । लगातार दुई दिनदेखि परेको वर्षाका कारण सप्तरीका नदी तथा खोलामा पानीको सतह बढ्दै जाँदा जिल्लाका विभिन्न स्थानमा बाढी, डुबान र कटानको जोखिम बढेको छ । वर्षाका कारण पुल, तटबन्ध तथा खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ ।
कञ्चनरूप नगरपालिका ११ गिदहास्थित देवीखोला र बाभना खोलाको संगममा रहेको पुल वर्षापछि क्षतिग्रस्त बनेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार पुलमा क्षति पुगेपछि स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ ।
यता, राजविराज नगरपालिका ११ झलहीमा कोशी पम्प नहरको तटबन्ध भत्किँदा रोपिएको धानबालीमा क्षति पुगेको छ भने बिघौँ खेतीयोग्य जमिन डुबानमा परेको छ । स्थानीयका अनुसार उत्तरी भेगमा सिँचाइ सुविधा पुर्याउन सञ्चालन गरिएको पम्प नहरको तटबन्ध फुटेपछि पानीसँगै ठूलो परिमाणमा बालुवा खेतमा पसेको हो ।
तटबन्ध भत्किएपछि पश्चिमतर्फको करिब दुई बिघाभन्दा बढी क्षेत्रफलमा रोपिएको धानबाली बालुवाले पुरिएको छ भने खाली रहेका खेतमा समेत बालुवा थुप्रिएको स्थानीयले बताएका छन् । प्रभावित स्थानीयले तटबन्ध तत्काल मर्मत गरी पानीको बहाव नियन्त्रण गर्न र उत्तरी क्षेत्रको सिँचाइ सेवा पुन: सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
यसैबीच, हनुमाननगर कंकालिनी नगरपालिका ११ सखुवास्थित सामुदायिक भवन अगाडिको बाँधमा सोमबार बिहानदेखि कटान सुरु भएको छ । स्थानीयका अनुसार इनरुवा र हनुमाननगर क्षेत्रबाट आएको पानीको चाप ह्युमपाइपले थेग्न नसक्दा बाँध कटान हुन थालेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खाँडो, महुली, कोशी, त्रियुगालगायत जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढेको जानकारी दिँदै केही गाउँ बस्तीमा समेत पानी पसेको बताए । उनका अनुसार बाढी, डुबान र कटान प्रभावित क्षेत्रको निरन्तर अनुगमन भइरहेको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयसँग समन्वय गरी उद्धार, राहत तथा सुरक्षित बसोबासका लागि आवश्यक तयारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।




