वीरगञ्ज । यातायात व्यवस्था कार्यालय, वीरगञ्जको सूचना व्यवस्थापनमा देखिएको कमजोरीका कारण मोटरसाइकल चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा दिन आएका सयौं सेवाग्राही सास्तीमा परेका छन् ।
शनिबारका लागि तय गरिएको लिखित परीक्षा सर्भरमा समस्या आएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । तर परीक्षा स्थगित भएको सूचना समयमै सार्वजनिक नगर्दा अधिकांश परीक्षार्थी जानकारीविहीन अवस्थामा परीक्षा केन्द्र पुगेका थिए ।
कार्यालयले परीक्षा स्थगित भएको सूचना शुक्रबार राति ट्रायल सेन्टरको भवनमा मात्रै टाँसेको थियो । सामाजिक सञ्जाल, कार्यालयको आधिकारिक माध्यम वा अन्य प्रभावकारी माध्यमबाट सूचना सार्वजनिक नगरिएकाले परीक्षार्थीहरूलाई जानकारी हुन सकेन ।
यसका कारण शनिबार बिहान परीक्षा दिन पुगेका डेढ सयभन्दा बढी सेवाग्राही परीक्षा नहुने जानकारी पाएपछि निराश हुँदै फर्किएका थिए । वीरगञ्जका साथै बारा, रौतहट र अन्य जिल्लाबाट आएका परीक्षार्थीले अनावश्यक यात्रा गर्नुपरेको भन्दै गुनासो गरेका छन् ।
केहीले होटल तथा लजमा बस्नुपर्दा अतिरिक्त आर्थिक भारसमेत बेहोर्नुपरेको बताएका छन् । सेवाग्राहीहरूले परीक्षा स्थगित गर्ने निर्णय गर्नुपर्ने अवस्था आएपनि त्यसबारे समयमै सूचना सार्वजनिक गरिएको भए अनावश्यक दु:ख, यात्रा र खर्चबाट बच्न सकिने बताएका छन् ।
उनीहरूले सूचना प्रवाहमा भएको कमजोरीलाई कार्यालयको गम्भीर लापरवाही भन्दै भविष्यमा यस्तो घटना दोहोरिन नदिन प्रभावकारी सूचना प्रणाली अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । यता कार्यालयका कर्मचारीले असार मसान्तका कारण सर्भरमा प्राविधिक समस्या देखिएकाले प्रणाली अवरुद्ध हुँदा लिखित परीक्षा स्थगित गर्नुपरेको बताएका छन् ।




