वीरगञ्ज । वीरगञ्जको मुख्य सडक अहिले विस्तारको चरणमा छ । वर्षौंदेखिको साँघुरो सडक फराकिलो बनाउने कामले गति लिएको छ । तर सडक विस्तारसँगै निर्माणजन्य फोहोर व्यवस्थापन हुन नसक्दा सर्वसाधारणले दैनिक सास्ती खेप्नुपरेको छ ।
सडक डिभिजन कार्यालय, हेटौंडाले वैशाख ६ गतेदेखि थालेको सडक विस्तार अभियान अन्तर्गत अहिले गण्डक चोकदेखि मितेरी पुलसम्मका संरचना हटाउने काम भइरहेको छ । दोस्रो चरणमा सडकको दायाँ बायाँ २५–२५ मिटरभित्रका घर तथा संरचना हटाइँदै छन् ।
संरचना भत्किएपछि इँटा, ढुंगा, छड, माटो र सिमेन्टका टुक्रा सडक किनार, फुटपाथ र नालामै थुप्रिएका छन् । पुनः प्रयोग गर्न मिल्ने सामाग्री घरधनीहरूले उठाएपनि बाँकी फोहोर भने यथावत् छ । त्यसको व्यवस्थापन नहुँदा सडकको स्वरूप अस्तव्यस्त बनेको छ ।
अविरल वर्षासँगै निर्माणजन्य फोहोरले नाला थुनिन थालेपछि मुख्य सडकमा पानी जम्ने समस्या बढेको छ । कतिपय स्थानमा पैदलयात्रीलाई हिलो र पानी छिचोलेर हिँड्नुपर्ने अवस्था छ भने सवारी साधन सञ्चालन समेत प्रभावित बनेको छ । पानी जमेकै कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको स्थानीयको भनाइ छ ।
स्थानीयवासीका अनुसार सडक विस्तार आवश्यक र स्वागत योग्य भएपनि फोहोर व्यवस्थापनलाई बेवास्ता गर्दा नागरिकले अनाहकमा सास्ती भोग्नुपरेको छ । सडक विस्तारसँगै नाला सफाइ, निर्माणजन्य फोहोर हटाउने र ट्राफिक व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनु पर्ने उनीहरूको माग छ ।
वीरगञ्ज महानगरपालिकाले नगरभित्र नियमित सरसफाइ गरिरहेको जनाएको छ । तर सडक विस्तारका क्रममा निस्किएको निर्माणजन्य फोहोर व्यवस्थापनको जिम्मेवारीबारे सम्बन्धित निकायबीच स्पष्टता नहुँदा समस्या लम्बिएको स्वीकार गरेको छ ।
महानगरले नाला सफा गर्ने र पानीको निकास खुलाउने काम गरिरहेको भएपनि निर्माणजन्य फोहोर हटाउने विषयमा सडक डिभिजन कार्यालय र सम्बन्धित पक्षबीच समन्वय आवश्यक रहेको जनाएको छ ।
हाल गण्डक चोकदेखि घण्टाघरसम्म र मितेरी पुलदेखि बिर्ताचोकसम्मका संरचना हटाइसकिएको छ । बाँकी बिर्ताचोक–घण्टाघर सडकखण्डमा भने चौथो गहवामाई रथयात्रा सम्पन्न भएपछि डोजर चलाउने तयारी छ ।
सडक फराकिलो बनाउने अभियानले दीर्घकालीन रूपमा वीरगञ्जको स्वरूप बदल्ने अपेक्षा गरिएको छ । तर निर्माणसँगै व्यवस्थापनमा ध्यान नदिने हो भने सडक विस्तारको लाभभन्दा नागरिकले भोग्ने सास्ती नै बढी हुने स्थानीयको चिन्ता छ ।




