राजविराज । नेपालकै पहिलो योजनाबद्ध सहरका रूपमा परिचित राजविराज अहिले बढ्दो ट्राफिक जाम, अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमणको समस्याले अस्तव्यस्त बन्दै गएको छ । फराकिला सडक र व्यवस्थित सहरी संरचनाका लागि चिनिएको सहरमा अहिले दैनिकजसो सवारी आवागमन प्रभावित हुने अवस्था सिर्जना भएको छ ।
सहरका मुख्य सडकमा बिहानदेखि साँझसम्म सवारीको चाप बढ्ने गरेको छ । सडक किनारमा जथाभावी पार्किङ, फुटपाथमा व्यापारिक सामाग्री राख्ने प्रवृत्ति र ई-रिक्साको अव्यवस्थित सञ्चालनका कारण विभिन्न स्थानमा ट्राफिक जाम हुने गरेको स्थानीय बताउँछन् । यसले सर्वसाधारणसँगै एम्बुलेन्सलगायत आपत्कालीन सेवाको आवागमन समेत प्रभावित हुने गरेको छ ।
विशेष गरी अदालत रोड, नेताचोक, राममन्दिर र सिरहा रोड आसपासका क्षेत्रमा ट्राफिक जाम नियमित समस्या बनेको छ । फुटपाथ अतिक्रमण भएपछि पैदलयात्री सडकबाटै हिँड्न बाध्य छन्, जसका कारण दुर्घटनाको जोखिम पनि बढेको स्थानीयको भनाइ छ ।
स्थानीयवासीका अनुसार सहरमा व्यवस्थित पार्किङस्थलको अभाव, नगर प्रहरी नहुनु र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नुले समस्या झन् जटिल बनेको छ । जिल्लाका विभिन्न स्थानबाट सञ्चालन हुने ई-रिक्साका लागि छुट्टै स्ट्यान्ड नहुँदा मुख्य सडकमै सवारी रोक्ने प्रवृत्ति बढेको उनीहरूको गुनासो छ ।
यता राजविराज नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर आवश्यक तयारी भइरहेको जनाएको छ । जथाभावी पार्किङ नियन्त्रण, फुटपाथ खाली गराउने र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय भइरहेको नगरपालिकाको भनाइ छ । नगर प्रहरी भर्ना प्रक्रिया अघि बढेकाले त्यसपछि नियम कार्यान्वयन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
स्थानीयले भने राजविराजको समस्या केवल ट्राफिक जाममा सीमित नरहेको बताएका छन् । योजनाबद्ध रूपमा निर्माण गरिएको ऐतिहासिक सहरको स्वरूप जोगाउन दीर्घकालीन ट्राफिक व्यवस्थापन योजना, पार्किङ क्षेत्र निर्धारण, फुटपाथ अतिक्रमण हटाउने, ई-रिक्सा सञ्चालनलाई व्यवस्थित गर्ने र नियमको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।




