मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित सिमखोलामा आकस्मिक बाढीले बगाएको स्कुटर सर्लाहीका महेश कुमार कार्कीको नाममा दर्ता रहेको खुलेको छ । यद्यपि बाढीमा बेपत्ता भएका चालकको पहिचान भने अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो आएको आकस्मिक बाढीले बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर चालकसहित बगाएको थियो । मङ्गलबार बिहान उक्त स्कुटर खोलाबाट फेला परेपछि यातायात व्यवस्था कार्यालयको अभिलेख जाँच गर्दा सवारी सर्लाही निवासी महेश कुमार कार्कीको नाममा दर्ता रहेको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार स्कुटरका धनीको पहिचान खुले पनि बाढीमा बेपत्ता भएका व्यक्ति स्वयं सवारीधनी हुन् वा होइनन् भन्ने विषयमा अनुसन्धान जारी छ ।
‘सवारी दर्ता विवरणबाट स्कुटरका धनीको पहिचान भएको छ । तर बाढीमा बेपत्ता भएका चालक नै सवारी धनी हुन् भन्ने पुष्टि भइसकेको छैन,’ डीएसपी काफ्लेले बताए ।
प्रहरीका अनुसार घटना सोमबार कुलेखानी ड्याम नजिकको सिमखोला तर्ने क्रममा भएको हो ।
अचानक आएको बाढीले स्कुटरसहित चालकलाई बगाएको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली तत्काल खोज तथा उद्धारमा परिचालन गरिएको थियो । प्रत्यक्षदर्शीले चालक स्कुटरसँगै बाढीमा बगेको बताएका छन् ।
तर खोलामा पानीको बहाव तीव्र रहेकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ । स्कुटर फेला परेसँगै बेपत्ता चालकको खोजीलाई थप तीव्र बनाइएको छ । सुरक्षाकर्मीले खोलाको तल्लो तटीय क्षेत्र तथा सम्भावित स्थानहरूमा निरन्तर खोजी अभियान सञ्चालन गरिरहेका छन् ।
यसैबीच, लगातारको वर्षाका कारण मकवानपुरका नदी तथा खोलामा पानीको बहाव बढेकाले जिल्ला प्रशासनले सर्वसाधारणलाई अनावश्यक रूपमा खोला तथा नदी नतर्न, जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र बाढी पहिरोको सम्भावना रहेका स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।






