रौतहट । रौतहटको गरुडा नगरपालिका ९ गमरिया टोलका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।
आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको प्रहरीले जनाएको छ । घटनापछि उनलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो ।
अस्पतालले बुधबार बिहान करिब ४ बजे प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको नेतृत्वमा टोली घटनास्थल र अस्पताल पुगेको थियो । प्रहरीका अनुसार प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौं रिफर गरिएको छ ।
हाल उनको अवस्था मध्यम रहेको बताइएको छ । युवकले किन यस्तो कदम चाले भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।




