रौतहट। रौतहटको ईशनाथ नगरपालिका ४ ठुलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार मंगलबार राति करिब ९:३० बजे अन्दाजी ३० वर्षका युवक उक्त पोखरीमा हाम फालेका थिए ।
उनी बुधबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी मठिया र सशस्त्र प्रहरी औरैयाको संयुक्त टोली घटनास्थल पुगेर रातभर खोजतलास गरेको थियो ।
प्रवक्ता गौतमका अनुसार मृतक भारतको बिहारस्थित पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, ढाका ग्राम पञ्चायत ३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिर रहेका छन् ।
वजिरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




