सर्लाही । सर्लाहीको बलरा नगरपालिका १ हथियौलमा करेन्ट लागेर एक भारतीय किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्य, सितामढी जिल्ला श्रीनगरका ५० वर्षीय अरविन्दकुमार सिंह रहेका छन् । उनी हथियौलका सुरेन्द्रप्रसाद सिंहको बटैया खेत कमाउँदै आएका थिए ।
प्रहरीका अनुसार अरविन्दकुमार मङ्गलबार राति आफूले बटैयामा कमाएको खेतमा सिँचाइ गर्न सीमावर्ती नेपाली भूभागस्थित हथियौल पुगेका थिए । सोही क्रममा करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बुधबार बिहान मृतकका बुवा तथा परिवारका सदस्यले शव घर लगेपछि मात्र घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो । त्यसपछि प्रहरी चौकी छन्कीटोला र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको टोलीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । करेन्ट लाग्ने घटना रातिको कुन समयमा भएको थियो भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन ।




