सप्तरी । सप्तरीमा एक किशोरको शव मोटरसाइकलमा बोकेर भाग्दै गरेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन् । प्रहरीले घटना दुर्घटना हो वा हत्या भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार शम्भुनाथ नगरपालिका ६ कठौना बजारमा १४ वर्षीय किशोर मोहम्मद सादिकको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा प्रहरीले शंका लागेपछि उनीहरूको पछ्याएको थियो । मृतक शम्भुनाथ नगरपालिका ५ मोहनपुर निवासी मोहम्मद सदामाका एक्ला छोरा हुन् ।
प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले बीआर ३२ बी ९७६४ नम्बरको अपाचे मोटरसाइकललाई पछ्याएको थियो । त्यसक्रममा मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिणतर्फ बोदेबरसाईन नगरपालिका २ हुँदै खडक नगरपालिका १ स्थित दिनाभद्री थान नजिक शव फालेर फरार हुने प्रयास गरेका थिए ।
घटनास्थलबाट भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा प्रहरीले भारतको बिहार राज्य, मधुवनी जिल्ला, खतौनी पिपराही निवासी २८ वर्षीय मो. सादर नटलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का व्यक्ति भने फरार रहेकाले उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानमा किशोरलाई ठक्कर दिएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको छ ।
यद्यपि, घटना सवारी दुर्घटना हो वा अन्य कुनै आपराधिक घटना, त्यसबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका मो. सादर नट बोदेबरसाईन नगरपालिका ५ स्थित सत्रुघ्न चोकमा सञ्चालित ‘सोनु मिट हाउस’मा काम गर्दै आएका थिए ।
घटनाप्रति आक्रोशित मृतकका आफन्त र स्थानीयवासीले बिहीबार बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ कठौनामा करिब ३० मिनेट सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान जारी रहेको जनाएको छ ।




