महोत्तरी । महोत्तरीको बलवा नगरपालिकाका एक वडाध्यक्षसहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बलवा नगरपालिका ६ का वडाध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध उक्त कसुरमा अनुसन्धान अघि बढाइएको हो ।
उनीहरूमाथि बलवा ६ का ३६ वर्षीय इन्जिनियर हुसनैन अन्सारी माथि आक्रमण गरी गम्भीर घाइते बनाएको आरोप लागेको छ । घटनापछि घाइते अन्सारीका दाजु नुरैन अन्सारीले प्रहरीमा जाहेरी दिएपछि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरअन्तर्गत निर्माण भइरहेको बलवा बजार–रौजा बजार–पडौल सडकखण्डको आरसीसी ढलानको काम चलिरहेका बेला देवनामा क्षेत्रमा विवाद उत्पन्न भएको थियो । सोही क्रममा इन्जिनियर अन्सारीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ ।
आक्रमणमा अन्सारीको हातको एउटा औँला काटिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको परिवारले जनाएको छ । हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनामा वडाध्यक्ष झासँगै श्याम यादव, मञ्जेश यादव, राजु यादव र बलराम यादवलाई पनि प्रतिवादी बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारू मगरले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको र घटनाबारे कानुनबमोजिम विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।




