जनकपुरधाम । सरकारले जनकपुर उपमहानगरपालिकाभित्र राजगुठीअन्तर्गत रहेका विभिन्न पोखरी तथा तिनका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरीलगायतका जलाशय र तिनका डिल क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो ।
समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले राजगुठीको जग्गामा पर्ने पोखरी र तिनका डिल क्षेत्रमा अनुमति बिना संरचना निर्माण गरी भोगचलन गर्दै आएको पाइएको छ। सार्वजनिक सम्पत्ति तथा गुठीको जग्गा संरक्षण गर्ने उद्देश्यले अतिक्रमण हटाउन सूचना जारी गरिएको समितिले जनाएको छ ।
सूचनामा तोकिएको सात दिनभित्र अतिक्रमण हटाउन आग्रह गरिएको छ । निर्धारित समयभित्र अतिक्रमण नहटाए प्रचलित कानुनअनुसार हटाउने तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विगतका आयोग र कार्यदलका प्रतिवेदन कार्यान्वयनलाई तीव्रता दिँदै जनकपुर क्षेत्रका अतिक्रमित गुठी जग्गा, पोखरी तथा अन्य सार्वजनिक सम्पत्तिको संरक्षण अभियानलाई अगाडि बढाएको जनाएको छ ।






