सिराहा । दाइजोको विवादमा १८ वर्षअघि एक महिलाको हत्या गरेर फरार रहेका सिरहाका एक जना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार बरियारपट्टी गाउँपालिका ५ का ६० वर्षीय रामनाथ रायलाई आफ्नै गाउँबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार २०६५ साल भदौ ३ गते बिहान बरियारपट्टी ५ की २५ वर्षीया चन्द्रिकादेवी रायमाथि उनका श्रीमान् बौधा रायसहित तीन जनाले धारिलो हतियार प्रहार गरेका थिए ।
गम्भीर घाइते भएकी चन्द्रिकालाई उपचारका लागि भारतको बिहारस्थित पटना लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा उनको मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका अभियुक्तमध्ये रामनाथ राय लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए । खोज तलासका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रायमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






