सर्लाही । सर्लाही प्रहरीले शनिबार जिल्लाको दक्षिणी भेगस्थित कौडेना गाउँपालिका १ सुखचैनामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको प्रहरी अपरेसनका क्रममा ४ क्विन्टल १९ केजी ९३ ग्राम गाँजा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गाँजा गाउँका विभिन्न घरका ओछ्यानमुनि लुकाएर राखिएको तथा करेसाबारीमा पत्करले छोपेर राखिएको अवस्थामा बरामद गरिएको हो ।
गाँजा भण्डारण गरिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेल, प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमसहित ठूलो संख्यामा प्रहरी टोली सुखचैना पुगेको थियो । त्यसक्रममा गाउँका विभिन्न स्थानमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट २५ वर्षीय राहुल राउत र ४६ वर्षीय महादेव राउतलाई नियन्त्रणमा लिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए । छापाका क्रममा प्रहरीले गाँजा तौल्न प्रयोग गरिएको चार वटा डिजिटल तौल मेसिन र एउटा सानो तराजु समेत बरामद गरेको छ ।
यसअघि सर्लाहीको लालबन्दी, हरिवन र बागमतीलगायत उत्तरी क्षेत्रबाट पटक–पटक गाँजा बरामद हुने गरेको थियो । तर यसपटक दक्षिणी भेगको सुखचैना गाउँबाटै यति ठूलो परिमाणमा गाँजा फेला परेपछि प्रहरीले यस क्षेत्रको लागुऔषध कारोबारको सञ्जालबारे पनि अनुसन्धान अघि बढाएको जनाएको छ ।




