राजविराज । कारागार कार्यालय सप्तरीका २०१ जना कैदीबन्दी विभिन्न माग राख्दै दुई दिनदेखि आमरण अनसनमा बसेका छन् । कारागारको ‘ए’ ब्लकमा रहेका कैदीबन्दी शनिबारदेखि अनिश्चितकालीन आमरण अनसनमा बसेको कारागार प्रशासनले जनाएको छ ।
‘ए’ ब्लकका नायक कामेश्वर यादवका अनुसार कारागारभित्र भएको घटनाबारे प्रकाशित तथा प्रसारित भ्रामक समाचार सच्याउनु पर्ने, ‘बी’ ब्लकका चौकीदार रामरिझन यादवमाथि आक्रमण गर्ने कैदीबन्दीलाई कानुनी कारबाही गर्नुपर्ने र घटनामा संलग्न कैदीबन्दीलाई अन्यत्र सरुवा नगरेसम्म अनसन जारी रहने उनीहरूको माग छ ।
कारागार प्रमुख रूपक मण्डलका अनुसार गत शुक्रबार लागूऔषध मुद्दामा रहेका केही कैदीबन्दीले ‘बी’ ब्लकका चौकीदार रामरिझन यादवमाथि आक्रमण गरेका थिए । घटनामा उनी घाइते भएका छन् भने संलग्न कैदीबन्दीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
कैदीबन्दीहरूले घटनाबारे तथ्यहीन र भ्रामक समाचार सार्वजनिक हुँदा कारागार प्रशासन, कर्मचारी र कैदीबन्दीको प्रतिष्ठामा असर परेको दाबी गर्दै त्यसलाई सच्याउन माग गरेका छन् ।
घाइते चौकीदार रामरिझन यादवका अनुसार पाँच छ जना कैदीबन्दीको समूहले आक्रमण गर्दा उनको निधारमा गहिरो चोट लागेको थियो । उपचारका क्रममा चार वटा टाँका लगाइएको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको उनले बताएका छन् ।
स्वास्थ्यमा थप समस्या देखिएपछि आइतबार बिहान उनको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएका छन् ।
यस घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको संयोजकत्वमा समिति गठन गरिएको कारागार प्रमुख मण्डलले जानकारी दिए । समितिले प्रतिवेदन बुझाएपछि त्यसका आधारमा आवश्यक कारबाही अघि बढाइने उनले बताए ।




