सर्लाही । केही दिनदेखि लगातार भइरहेको वर्षाले पूर्व-पश्चिम महेन्द्र राजमार्गसहित सर्लाहीका मुख्य तथा भित्री सडकको अवस्था झन् बिग्रिएको छ । ठाउँ-ठाउँमा बनेका ठूला खाल्डाखुल्डी र जीर्ण पुलका कारण यात्रु र चालकले दैनिक सास्ती खेपिरहेका छन् भने दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।
विशेष गरी निर्माणाधीन महेन्द्र राजमार्गमा वर्षाको पानी जमेर खाल्डा खुल्डी नदेखिँदा दुईपाङ्ग्रे र साना सवारीसाधन बढी प्रभावित भएका छन् । स्कुटर, मोटरसाइकल र विद्युतीय सवारी (इभी) चालकले अचानक खाल्डोमा परेर सन्तुलन गुमाउने घटना बढ्न थालेको छ । लालबन्दी-काठमाडौं रुटमा इभी चलाउँदै आएका चालक पुष्करराज खड्काका अनुसार वर्षासँगै सडकको अवस्था निकै खराब बनेको छ ।
“राजधानीदेखि सर्लाहीसम्म धेरै ठाउँमा सडक भत्किएको छ । नयाँ-नयाँ खाल्डा परेकाले गाडी चलाउँदा निकै सतर्क हुनुपर्छ । कतिपय ठाउँमा ब्रेक लगाउने समय समेत पाइँदैन,” उनले भने । उनका अनुसार सडक बिग्रँदा यात्रा समय लम्बिएको छ भने सवारी साधनमा पनि बारम्बार मर्मत खर्च बढ्न थालेको छ ।
रातिको यात्रा झन् जोखिमपूर्ण
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख झलक शर्माले वर्षाका कारण सडक चिप्लो र खाल्डा खुल्डीले भरिएकाले सबै चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उनका अनुसार रातिको समयमा सडकमा पानी जमेकाले खाल्डा सजिलै नदेखिने हुँदा दुर्घटनाको सम्भावना अझ बढी हुन्छ ।
पुल पनि जीर्ण, यात्रा थप कठिन
पथलैयादेखि बर्दिवाससम्मको महेन्द्र राजमार्गका एक दर्जनभन्दा बढी पुल पनि जीर्ण अवस्थामा छन् । बनगढी, उनासी, लमाहा, चाँदी, बागमती, लखन्देही, कालिन्जोर र बाँकेलगायतका पुलमा पनि खाल्डाखुल्डी परेकाले सवारी सञ्चालनमा समस्या भइरहेको छ ।
यही खण्डमा अहिले चार लेन सडक विस्तारको काम जारी रहेकाले धेरै स्थानमा डाइभर्सन प्रयोग गर्नुपर्ने अवस्था छ । तर डाइभर्सनमै पानी जम्दा सवारी आवागमन थप प्रभावित भएको छ ।
वर्षा रोकिएपछि मर्मत गर्ने तयारी
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका डिभिजन प्रमुख अरुण कुमार लाल कर्णले वर्षा कम हुनेबित्तिकै खाल्डाखुल्डी पुर्ने काम सुरु गरिने बताए । यस्तै, कमला-ढल्केबर-पथलैया सडक आयोजनाका आयोजना प्रमुख राजेशकुमार दासका अनुसार सर्लाही, महोत्तरी र धनुषा खण्डको राजमार्ग तथा पुलको मर्मत सम्बन्धित निर्माण कम्पनीले नै गर्नेछ ।
उनले सडकमा खाल्डाखुल्डी बढेको र डाइभर्सनमा पानी जमेकाबारे धेरै गुनासा आएको स्वीकार गर्दै निर्माण व्यवसायीलाई तत्काल मर्मतमा सक्रिय हुन निर्देशन दिइएको बताए ।
यात्रु र चालकको एउटै माग
लगातारको वर्षाले सडक झन् बिग्रिएपछि यात्रु र चालक दुवैले तत्काल खाल्डाखुल्डी पुर्न र जीर्ण पुल मर्मत गर्न माग गरेका छन् । वर्षायामभर सडकको अवस्था यस्तै रहने हो भने दुर्घटनाको जोखिम अझ बढ्ने उनीहरूको चिन्ता छ ।






