जनकपुरधाम । दृष्टिबन्धकमा लिएको जग्गा जग्गाधनीलाई जानकारी नै नदिई बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ऋण लिएको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साहलाई अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक रुपक खड्काका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई धनुषाको नगराइन नगरपालिका अन्तर्गत जटही सीमा नाकाबाट र हरेराम साहलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानमा जनकपुरधाम २ का गोविन्दकुमार साहले व्यापारका लागि गोपाल साहसँग ९९ लाख रुपैयाँ ऋण लिँदा आफ्नो जग्गा दृष्टिबन्धकमा राखेको खुलेको प्रहरीले जनाएको छ ।
तर, सोही जग्गा जग्गाधनीको जानकारी वा सहमतिबिनै गोपाल साह, उनकी श्रीमती र छोराले बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ऋण लिएको आरोप प्रहरीले लगाएको छ ।
प्रहरीले गोपाल साहको घरमा खानतलासी गर्दा ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता प्रमाणपत्र, एक थान ल्यापटप तथा विभिन्न छाप र नक्सा बरामद गरेको जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




