रौतहट । मनसुन थप सक्रिय भई आगामी दुई दिन रौतहटसहित मधेश प्रदेशका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
प्रशासनले आइतबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार जिल्लाका नदी तथा खोलामा बाढी आउन सक्ने जोखिम रहेको जनाएको छ ।
विशेष गरी लालबकैया, बागमती, झाँझ खोला लगायत नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा बस्न, नदी किनार तथा खोलानजिक अनावश्यक रूपमा नजान र सम्भावित जोखिमप्रति सचेत रहन प्रशासनले अनुरोध गरेको छ ।
बालबालिकालाई पनि नदी तथा खोलातर्फ जान नदिन अभिभावकलाई आग्रह गरिएको छ । जिल्ला प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, मौसम प्रतिकूल रहेका बेला लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।
यसैगरी स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थालाई उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । जेसीबी, दमकल, एम्बुलेन्स, उद्धार सामाग्री, खाद्यान्न तथा गैरखाद्य सामाग्री तयारी अवस्थामा राख्न प्रशासनले भनेको छ ।
प्रशासनले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न र कुनै पनि विपद् वा आपत्कालीन अवस्था आएमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी–११४४), नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४) वा स्थानीय प्रशासनसँग तत्काल सम्पर्क गर्न सबैमा अनुरोध गरेको छ ।




