बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका १ बाट घरअगाडि पार्किङ गरेर राखिएको ट्रक रहस्यमय रूपमा हराएको छ । घटनामा ट्रकका सहचालकमाथि प्रहरीले शंका गरेको छ ।
प्रहरीका अनुसार ना ६ ख १३५७ नम्बरको टाटा कम्पनीको खाली ट्रक चालक अनोज थापाले आइतबार राति करिब ९ बजे आफ्नै घरअगाडि पार्किङ गरेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा ट्रकका सहचालकले कसैलाई जानकारी नदिई ट्रक लिएर गएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । ट्रक हराएयता सहचालक पनि सम्पर्कविहीन रहेको चालक थापाले बताएका छन् ।
चालक थापाले आफैं खोजतलास गर्दा पनि ट्रक फेला नपरेपछि सोमबार बिहान ६:१० बजे प्रहरी चौकी पथलैयामा जानकारी गराएका थिए ।
जानकारी प्राप्त हुनासाथ प्रहरी हवल्दार मोहरकुमार दासको नेतृत्वमा दुई सदस्यीय प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले हराएको ट्रकको खोजी तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार हराएको ट्रक बाराको जितपुरसिमरा उपमहानगरपालिका १ निवासी सोम गुरुङको स्वामित्वमा रहेको छ ।




