बारा । बाराको सुवर्ण गाउँपालिका ७ चौरहिया गाउँ नजिक धानखेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका ९ बलुवाकी राजेन्द्र महतोकी १८ महिनाकी छोरी लालु कुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनी केही दिनका लागि मामा घर आएकी थिइन् ।
प्रहरीका अनुसार आइतबार साँझ करिब ५:३० बजे मामा घरको पछाडि रहेको स्थानीय तारा चन्द साहको धानखेतमा जमेको पानीमा खेल्ने क्रममा बालिका डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि परिवारका सदस्यले उनलाई तत्काल पानीबाट बाहिर निकालेका थिए । तर, त्यतिबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
घटनाबारे साँझ करिब ६:१५ बजे इलाका प्रहरी चौकी बड्की फुलबरियामा सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक (असई) राम विद्या साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




