बारा । बाराको प्रसौनी गाउँपालिका ५ बहुअरी टोलमा खाना पकाउने क्रममा ग्यास चुहिएर आगलागी हुँदा एक युवक घाइते भएका छन् । घाइते हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका ३ स्थायी घर भई हाल बाराको प्रसौनी गाउँपालिका ५ बहुअरी टोलमा डेरा गरी बस्दै आएका ३३ वर्षीय महेश पटेल रहेका छन् ।
प्रहरीका अनुसार आइतबार राति करिब ११ बजे खाना पकाइरहेका बेला ग्यास सिलिन्डरबाट ग्यास चुहिएपछि अचानक आगलागी भएको थियो । आगलागीमा परी पटेलको अनुहार, छाती, ढाड तथा दुवै हात जलेको प्रहरीले जनाएको छ ।
घाइते पटेलको पर्सास्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको र उपचारका क्रममा आफन्तको साथ रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे राति ११:५९ बजे गण्डक अस्पतालबाट इलाका प्रहरी कार्यालय प्रसौनीमा सूचना प्राप्त भएपछि वरिष्ठ प्रहरी सहायक निरीक्षक (वरिष्ठ सई) विनोद रानामगरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






