सिरहा । सिरहाको नरहा गाउँपालिका २ को वडा कार्यालयमा वडा अध्यक्ष र वडा सचिवबीचको विवादका कारण कार्यालय बन्द हुँदा सेवाग्राहीको कामकाज प्रभावित भएको छ । शुक्रबारदेखि सुरु भएको विवादपछि कार्यालयको नियमित सेवा अवरुद्ध बनेको हो ।
स्थानीय कर्मचारीहरूका अनुसार आर्थिक वर्षको अन्त्यसँगै योजनाको हिसाब–किताब र रकम बाँडफाँटको विषयलाई लिएर वडा अध्यक्ष सम्झना सिंह र वडा सचिव रामानन्द सिंहबीच विवाद चर्किएको हो ।
स्थानीय तथा केही कर्मचारीहरूले वडा अध्यक्ष र वडा सचिवबीच कमिसनसम्बन्धी विवाद भएको दाबी गरेका छन् । उनीहरूका अनुसार विवादपछि दुवै जना कार्यालय छाडेर सम्पर्कविहीन भएका थिए ।
नाम नखुलाउने सर्तमा एक कर्मचारीले भने, “असार २९ गतेदेखि नै अध्यक्ष र सचिवबीच कमिसनको विषयमा विवाद चलिरहेको थियो । शुक्रबार सचिवले आफूले पाउनुपर्ने हिस्सा नपाएको भन्दै कार्यालय बन्द गरेर निस्किनुभयो ।”
योजनासम्बन्धी विवादका कारण शुक्रबारदेखि वडा कार्यालयको सेवा प्रभावित भएको स्थानीयहरूको भनाइ छ । यसले सेवाग्राहीहरू मर्कामा परेका छन् । स्थानीय जितु यादवले भने, “वडा कार्यालय सञ्चालन खर्च तथा उपभोक्ता समितिबाट आउने भनिएको रकमको बाँडफाँटलाई लिएर वडा अध्यक्ष र सचिवबीच शुक्रबार विवाद भएको थियो ।”
यसबारे प्रतिक्रिया दिँदै वडा सचिव रामानन्द सिंहले अध्यक्ष र आफूबीच आन्तरिक विवादका कारण कार्यालय बन्द भएको स्वीकार गरे । उनले भने, “अध्यक्ष र मबीच आन्तरिक विवादका कारण कार्यालय बन्द गरिएको हो । यो हाम्रो व्यक्तिगत कुरा हो ।” उनले विवादको कारणबारे थप विवरण खुलाउन चाहेनन् ।
यता वडा अध्यक्ष सम्झना सिंहले भने यस विषयमा कार्यालयमै आएर बुझ्न आग्रह गरिन् । उनले भनिन्, “सचिवले किन र के कारणले कार्यालय बन्द गर्नुभयो, त्यो विषयमा वडामै आएर बुझ्नुस् ।” उनले विवादबारे थप टिप्पणी गर्न चाहिनन् ।
स्थानीयका अनुसार शुक्रबार गाउँपालिकामा हिसाब–किताब मिलाउने र रकम बाँडफाँट गर्ने सहमति भएपछि सोमबार दिउँसो करिब ३ बजे वडा सचिवले कार्यालय खोलेका थिए । तर त्यसपछि पुन: कार्यालय बन्द गरिएको उनीहरूको भनाइ छ ।
कार्यालय बन्द हुँदा सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सिफारिस, जन्मदर्ता, मालपोतसम्बन्धी सिफारिसलगायतका सेवा लिन आएका दर्जनौँ सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएका छन् । यता नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्य कुमार कर्णले आफू बिदामा रहेकाले यस विषयमा जानकारी नभएको बताए ।






