रौतहट । रौतहटको मौलापुर नगरपालिका १ मर्यादपुरस्थित लालबकैया नदीको बाँधमा सोमबार साँझ उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गर्दै सम्भावित बाढी जोखिमको आकलन गरेको छ ।
मनसुन सक्रिय भएसँगै बाढी र नदी कटानको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै स्थानीयवासीलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन, सतर्क रहन तथा जोखिम देखिए सुरक्षित स्थानतर्फ तत्काल सर्न आग्रह गरिएको छ ।
निरीक्षण टोलीमा रौतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य धिरजप्रसाद पटेल, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हजमिनियाका प्रमुख एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी, सिँचाइ कार्यालयका प्रतिनिधि तथा अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
टोलीले बाँधको वर्तमान अवस्था, कटानको उच्च जोखिम रहेका क्षेत्र तथा सम्भावित बाढीबाट हुन सक्ने क्षतिको स्थलगत अवलोकन गर्दै रोकथामका उपायबारे छलफल गरेको थियो । साथै, सम्बन्धित निकायबीच आवश्यक समन्वय गरी कटान नियन्त्रण तथा विपद् पूर्वतयारीका कार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको जनाइएको छ ।
रौतहटको पूर्वी क्षेत्रमा बागमती नदी र पश्चिमी क्षेत्रमा लालबकैया नदी वर्षायाममा उग्र बन्दा आसपासका बस्ती तथा खेतीयोग्य जमिनमा हरेक वर्ष डुबान र कटानको समस्या दोहोरिने गरेको छ । यसै कारण मनसुनको संवेदनशील समयमा गरिएको यो संयुक्त अनुगमनलाई विपद् जोखिम न्यूनीकरणतर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ ।
यद्यपि स्थानीयवासीले दीर्घकालीन समाधानका लागि तटबन्धको सुदृढीकरण, नदी नियन्त्रण तथा संरक्षणका कार्य तत्काल अघि बढाउन सम्बन्धित निकायसँग माग गर्दै आएका छन् ।




