सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे थोक तरकारी बजार परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतक लालबन्दी नगरपालिका ७ कै ४२ वर्षीय उमेश विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरका अनुसार विश्वकर्मा बुधबार दिउँसो तरकारी बजारस्थित शौचालयको प्रवेशद्वार नजिक मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक रूपमा अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि मृत्युको यकिन कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।




