सर्लाही । मिटरब्याजको पीडा भोग्दै न्यायको खोजीमा आन्दोलनमा सहभागी भएका सर्लाहीका एक परिवारमाथि पुन: कुटपिट भएको आरोप लागेको छ । बसबरिया गाउँपालिका २ निवासी इन्दल सहनीले आफूले ऋणको रकम चुक्ता गरिसक्दा पनि धितो राखिएको जग्गा फिर्ता नपाएको र त्यसै विषयलाई लिएर आफू तथा परिवारमाथि आक्रमण भएको बताएका छन् ।
पीडितका अनुसार उनले केही वर्षअघि स्थानीय साहु लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिँदा २६ कठ्ठा जग्गा धितोको रूपमा राजीनामा पास गरिएको थियो । ऋणको साँवा ब्याज चुक्ता गरेपछि जग्गा फिर्ता गरिने मौखिक सहमति भएको उनको भनाइ छ ।
सहनीले सुरुमा ६ लाख रुपैयाँ बुझाएको र त्यसपछि पटक–पटक गरी करिब १० देखि ११ लाख रुपैयाँसम्म तिरिसकेको दाबी गरेका छन् । वडा कार्यालयमा समेत जग्गा फिर्ता गर्ने सहमति भएको उनी बताउँछन् । तर त्यसअघि नै साहु लक्ष्मी कुर्मी राउतको मृत्यु भएपछि उनका छोरा बिलास शाहले उक्त जग्गा अर्कै व्यक्तिको नाममा बिक्री गरिदिएको आरोप पीडितको छ ।
पीडित परिवारका अनुसार ऋण चुक्ता भइसके पनि जग्गा फिर्ता नपाएपछि उनीहरू विगत करिब १० वर्षदेखि सोही जग्गा आफैंले जोतभोग गर्दै आएका थिए । हालै मिटरब्याज पीडितहरूको ‘पैदल न्याय मार्च’मा सहभागी भएर घर फर्किएपछि विवाद फेरि चर्किएको उनीहरूको भनाइ छ ।
पीडित पक्षले दिएको जानकारीअनुसार जग्गामा जबरजस्ती धान रोप्न खोजिएको विषयलाई लिएर विवाद हुँदा बिलास शाहको नेतृत्वमा विशेषर शाह, लक्ष्मण शाह, जगदीश शाह, रामप्रवेश शाह तथा परिवारका अन्य सदस्यहरूले इन्दल सहनीमाथि कुटपिट गरेको आरोप लगाइएको छ ।
उक्त घटनामा इन्दल सहनीसहित उनका छोरा उमेश सहनी, मुना सहनी तथा श्रीमती भगवतीकुमारी सहनी घाइते भएका छन् । घाइतेहरूको बरहथवास्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
पीडित परिवारले ऋण चुक्ता गरिसक्दा पनि जग्गा हडप्ने उद्देश्यले आफूहरूमाथि आक्रमण गरिएको आरोप लगाएको छ । यद्यपि, आरोपित पक्षको प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । घटनाबारे प्रहरीमा जानकारी गराइएको र थप अनुसन्धान भइरहेको बताइएको छ ।




