सिरहा । सिरहाको लहान नगरपालिका ३ नयाँ बस्तीबाट प्रहरीले ६५२ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा गोलबजारबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रोकेर राखिएको योद्धा पिकअपमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा नास्पाती राखिएको ४६ वटा क्रेटभित्र सेतो प्लास्टिकले बेरेर लुकाइ राखिएको अवस्थामा ६५२ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका ३ नयाँ बस्ती निवासी करिब ३८ वर्षीया श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान ३ मा बसोबास गर्दै आएका करिब ४० वर्षीय गौरव शाह तथा उनका करिब १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएको गाँजा ढुवानीमा प्रयोग भएको योद्धा पिकअपसमेत नियन्त्रणमा लिइएको छ । यसैबीच, लहान क्षेत्रमा पछिल्लो समय लागूऔषध कारोबार तथा सार्वजनिक स्थानमा जुवा–तास खेल्ने गतिविधि बढेको भन्दै स्थानीयवासीले प्रतिनिधिसभा सदस्य बब्लु गुप्तासँग गुनासो गरेका थिए । लहानका वडा नं. ३, ४ र ६ मा आयोजित भेटघाट कार्यक्रममा स्थानीयले सुरक्षा चुनौती बढ्दै गएको बताएका थिए ।
सोही क्रममा सांसद गुप्ताले सुरक्षा निकायलाई लागूऔषध कारोबार र जुवा नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए । स्थानीयले लहान क्षेत्र लागूऔषध ओसारपसारको ट्रान्जिट बिन्दु बन्दै गएको चिन्ता व्यक्त गरिरहेका बेला ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।
प्रहरी सहायक निरीक्षक राजु प्रसाद ढकालको नेतृत्वमा इलाका प्रहरी कार्यालय लहान तथा प्रहरी सहायक निरीक्षक जोगिन्दरकुमार साहको नेतृत्वमा लागूऔषध नियन्त्रण ब्युरो शाखा गोलबजारबाट खटिएको टोलीले उक्त अपरेशन सफल बनाएको प्रहरीले जनाएको छ ।






