सिरहा । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
अख्तियारका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को कर परीक्षण (अडिट) का क्रममा अधिकृत पालले कर परीक्षण प्रक्रिया सहज बनाइदिने र माथिल्लो तहका अधिकारीलाई समेत मिलाउनुपर्ने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । उनले सुरुमा १२ लाख रुपैयाँ मागे पनि कम्पनीका सञ्चालकले आर्थिक अवस्था कमजोर रहेको बताएपछि पाँच लाख रुपैयाँमा सहमति भएको बताइएको छ ।
कार्यालयले कर परीक्षणका क्रममा कम्पनीलाई कर, जरिवाना तथा अन्य शीर्षकमा करिब दुई करोड रुपैयाँसम्म दायित्व पर्न सक्ने जनाएको थियो । थप कागजात पेस गरिएपछि उक्त दायित्व अझै ३० देखि ३५ लाख रुपैयाँसम्म बढ्न सक्ने जानकारी अधिकृत पालले दिएको आरोप छ ।
यही अवस्थालाई आधार बनाएर उनले कागजात मिलाइदिने र प्रक्रिया अगाडि बढाइदिने आश्वासनसहित घुस रकम मागेको उजुरी अख्तियारमा परेको थियो । उजुरीका आधारमा निगरानी गरिरहेको अख्तियारको टोलीले बिहीबार सेवाग्राहीबाट पाँच लाख रुपैयाँ बुझ्ने क्रममा पाललाई रंगेहात नियन्त्रणमा लिएको हो ।
पक्राउपछि आवश्यक मुचुल्का, प्रमाण संकलन र कागजी प्रक्रिया पूरा गर्न अख्तियारको टोलीलाई करिब पाँच घण्टा लागेको स्रोतले जनाएको छ । यता, आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख अमित पौडेलले कर अधिकृतले घुस मागेको विषयमा आफूलाई पूर्वजानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
उनका अनुसार सिरहा सुपर मार्केट प्रालिलाई प्रारम्भिक मूल्याङ्कनअनुसार करिब एक लाख रुपैयाँ कर दायित्व देखिएको थियो । घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




