पाल्पा । पाल्पाको तानसेनस्थित मिलेनियम सेकेन्डरी स्कुलको क्यान्टिनमा ग्यास चुहावटका कारण आगलागी हुँदा चार जना बालिका घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
बिहीबार दिउँसो विद्यालयमा खाजा वितरण भइरहेको समयमा ग्यासको पाइपबाट ग्यास चुहिएपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
आगलागीमा परी एलकेजीमा अध्ययनरत ४ देखि ५ वर्ष उमेरका सचिता बानु, पर्सुजा दंगाल, अनुष्का कुमाल र आरन्या शाक्य घाइते भएका हुन् । उनीहरूलाई तत्काल उपचारका लागि मिसन अस्पताल लगिएको थियो ।
मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईका अनुसार घाइतेमध्ये सचिता बानुको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । अन्य तीन बालिकाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल महेन्द्र पोखरेलले खाजा खुवाउने क्रममा क्यान्टिनमा जडान गरिएको ग्यासको पाइपबाट चुहावट भएपछि आगलागी भएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।






