जनकपुरधाम । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले आफ्नो धितोमा रहेको जग्गा अनधिकृत रूपमा पुन: धितो राखेर चार करोड रुपैयाँ ऋण लिइएको भन्दै आफू ठगीको शिकार भएको बताएका छन् ।
धनुषाको विदेह नगरपालिका ८ स्थायी घर भई हाल जनकपुरधाम उपमहानगरपालिका २ मा बसोबास गर्दै आएका साहले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिँदै आफूले प्रहरीमा ठगीको उजुरी समेत दर्ता गराएको बताए ।
साहका अनुसार उनले २०७९ सालमा चिनजानका एक व्यक्तिबाट ९९ लाख रुपैयाँ ऋण लिँदा पत्नीको नाममा रहेको विदेह नगरपालिका ६ तीनकौरियास्थित पाँच कठ्ठा १३ धुर जग्गा दृष्टिबन्धक राखेका थिए । तर आफूलाई कुनै जानकारी नदिई सोही जग्गा पुन: धितो राखेर अर्को व्यक्तिबाट चार करोड रुपैयाँ ऋण लिएको आरोप उनले लगाएका छन् ।
उनले पटक–पटक साँवा–ब्याज तिरेर आफ्नो जग्गा फुकुवा गरिदिन आग्रह गर्दा पनि सम्बन्धित व्यक्तिले विभिन्न बहाना बनाउँदै टार्दै आएको बताए । त्यसपछि आफू बाध्य भएर कानुनी प्रक्रियामा गएको उनको भनाइ छ ।
पूर्व एसएसपी साहको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ठगी मुद्दामा संलग्न रहेको आरोपमा स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा हरेराम साहलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।




