धनुषा । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरस्थित ग्रिन बायो फ्यूल उद्योगमा ग्यास चुहावटका कारण आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान उद्योग परिसरभित्र रहेको कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको पाइपबाट चुहावट भएपछि आगो लागेको थियो ।
आगलागीमा परी बाराको प्रसौनी गाउँपालिका ४ खुट्वा प्रसौनीका २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सारी र २५ वर्षीय धर्मराज महतो घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार आगलागीबाट तीनै जनाको शरीरका विभिन्न भाग जलेका छन् । उनीहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगिएको थियो ।
अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएकाले तीनै जनालाई काठमाडौंस्थित बर्न अस्पताल, कीर्तिपुर रिफर गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।






