महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा तीन वर्षीय बालक मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले १५ वर्षीया एक किशोरीलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा बालकको मृत्यु साइकल दुर्घटनाबाट भएको र त्यसपछि घटना लुकाउन शव पोखरीमा फालिएको खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार सम्सी गाउँपालिका ५ पोखरभिण्डाका तीन वर्षीय मनिकेश कुमार यादव जेठ २२ गते घरबाहिर खेल्ने क्रममा हराएका थिए । दुई दिनपछि, जेठ २४ गते उनको शव नजिकैको पोखरीमा बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो ।
शव फेला पर्दा बालकले हातमा लगाएका दुई वटा चाँदीका बाला पनि हराएको अवस्थामा थिए । घटनाको अनुसन्धानका क्रममा साउन ५ गते सोही स्थानकी १५ वर्षीया किशोरीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको दिन किशोरीले साइकलमा करिब ३० किलो मल बोकेर खेततर्फ जाँदै थिइन् । त्यही क्रममा मुख्य सडकबाट भोला बाला मन्दिरतर्फ मोडिने बेला दौडिरहेका बालक अचानक साइकलअगाडि आएका थिए । साइकलमा ब्रेक नभएको र पछाडि भारी बोकेको कारण नियन्त्रण गुम्दा बालकमाथि साइकल चढेको अनुसन्धानबाट खुलेको छ ।
साइकलको दुवै चक्का बालकको छातीमाथिबाट गुज्रिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको दाबी छ । त्यसपछि बालकको मृत्यु भएको थाहा पाएपछि किशोरीले घटना लुकाउने उद्देश्यले शवलाई बोरामा हालेर करिब ३०० मिटर टाढाको पोखरीमा लगेर फालेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले किशोरीलाई बालबालिकासम्बन्धी कानुनी व्यवस्थाअनुसार नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।






