जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित नाभ्या होटलका सञ्चालक सुधीरकुमार अग्रवाल सरकारी अनुगमन टोलीलाई अवरोध गरेको आरोपमा पक्राउ परेका छन् ।
शुक्रबार बिहान मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्थानीय प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले होटलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा सञ्चालक अग्रवालले टोलीलाई होटलभित्र प्रवेश गर्न नदिएको, होटलमा ताल्चा लगाइदिने धम्की दिएको तथा मन्त्री महतोसहित सरकारी प्रतिनिधिप्रति अमर्यादित व्यवहार गरेको आरोप छ । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
हाल अग्रवाललाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । यसैबीच, होटलको भान्सा निरीक्षण गर्दा सडेगलेका तथा उपभोगका लागि अयोग्य खाद्य सामग्री फेला परेको अनुगमन टोलीले जनाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन गरेको निष्कर्षसहित सम्बन्धित निकायले होटललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।
मधेश प्रदेश सरकारले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित होटल, रेष्टुरेन्ट तथा अन्य खाद्य व्यवसायमाथिको अनुगमनलाई पछिल्लो समय तीव्र बनाएको छ ।
विशेष गरी राजमार्ग आसपास सञ्चालनमा रहेका होटलहरूको खाद्य गुणस्तरबारे गुनासा बढेपछि सरकारले कडाइका साथ नियमित अनुगमन अभियान सञ्चालन गरिरहेको जनाएको छ ।




