भद्रपुर । झापाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका १३ निवासी ३० वर्षीय सुदिम खत्री बिहीबार साँझ करिब ५ बजे गण परिसरभित्रको आन्तरिक विद्युत् लाइन मर्मत गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीले बताए ।
प्रहरीका अनुसार खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट विद्युत् सम्बन्धी प्राविधिक तालिम लिएका थिए र सोही सीप प्रयोग गर्दै मर्मत कार्यमा संलग्न रहेका थिए ।
घटनाको कारणबारे सशस्त्र प्रहरी बलले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।






